मुभी लभर्सले ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने - Crazysaptahik.com

मुभी लभर्सले ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने

सामाजिक सञ्जालमा सक्रिय फिल्मप्रेमीको समूह ‘मुभी लभर्स’ले प्रतीक्षित फिल्म ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ । विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत यो सोसल ड्रामा फिल्म आगामी वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शन गरिने समूहले जनाएको छ ।

समूहका सक्रिय लेनिन बञ्जाडेले प्रदर्शनसँगै निर्माता, निर्देशक र कलाकारसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने बताए । कोभिडका कारण प्रदर्शन मिति पछि सरेको यो फिल्म वैशाख २९ गते देशभर प्रदर्शन हुँदैछ ।

ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया पाएको फिल्ममा महेश त्रिपाठी, विनिता थापा मगर, प्रकाश दाहाललगायतको अभिनय छ । चिन्तनराज भण्डारीको छायांकनले प्रशंसा बटुलेको छ । यो फिल्मबाट ‘वल्र्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले सर्वोत्कृष्ट अभिनेता र चिन्तनराज भण्डारीले सर्वोत्कृष्ट छायाकारको अवार्ड जितेका थिए ।

फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो । ‘हल्कारा’ एउटा हुलाकीको कथा हो । द्वन्द्वकालीन समयको कथा बोकेको फिल्म प्रदर्शनपछि निर्माण टिमसँग छलफल पनि गरिने मुभी लभर्सले जनाएको छ ।

यही प्रदर्शनदेखि मुभी लभर्सले सुन्धाराको सीडीसी सिनेमालाई केन्द्र बनाउने पनि बताएको छ । समूहले आयोजना गर्ने प्रदर्शनी, कार्यक्रम र कार्यशाला त्यहीं हुनेछन् । यसमा सीडीसी हलले सघाउनेछ । फिल्मको टिकट मुभी लभर्सको पेजबाट खरिद गर्न सकिने भएको छ ।

सम्बन्धित खवर