सौगात र अर्पणलाई लिएर ग्याङस्टर फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने - Crazysaptahik.com

सौगात र अर्पणलाई लिएर ग्याङस्टर फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने

‘लेभल : एक्स नाइन’लाई पछि धकेल्दै निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस ः टम एण्ड जेरी’को घोषणा गरेका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ ।

यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती र इन्द्रप्रसाद खरेल कलाकारको रुपमा हुने जनाइएको छ । लिड फिमेल अभिनेत्री तय हुन बाँकी रहेको निर्देशक भट्टले जानकारी दिए ।

म्याक मिडिया एण्ड सर्भिसेजको ब्यानरमा बन्ने फिल्मलाई सुदीपचन्द्र बखरेलले निर्माण गर्दैछन् । ग्याङस्टर जनरामा निर्माण हुने यो फिल्मलाई नेपालसहित अमेरिका, क्यानडा र अष्ट्रेलियामा छायांकन गर्ने जनाइएको छ ।

निर्देशक भट्टले यसअघि पनि ‘लेभल : एक्स नाइन’ गर्ने घोषणा गरेका थिए । तर छायांकन नहुँदै अनमोल केसी लगायतले फिल्म छाडे ।‘लेभल : एक्स नाइन’लाई अब प्रदीप खड्काको ‘क्यामिनो’पछि गर्ने तयारीमा उनी छन् ।

किनभने अनमोलको ठाउँमा प्रदीपलाई ल्याउने भट्टको योजना छ । तर बलिउड अभिनेता सुनिल शेट्टी पनि समावेश भए आफू पनि जोडिने पूर्वसर्त प्रदीपले राखेका छन् । भट्टले यसअघि ‘लप्पनछप्पन’ र त्यसको दोस्रो सिक्वेल निर्देशन गरेका छन् ।

सम्बन्धित खवर