राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरिने - Crazysaptahik.com

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरिने

चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो ।

आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भएको छ । कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुयाएका र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एक जना पत्रकारलाई उक्त सम्मान प्रदान गरिने भएको छ ।

अध्यक्ष समीर बलामीले पूर्वचलचित्र पत्रकारलाई मानार्थ सदस्यता समेत वितरण गर्ने बताए ।कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारले पहल गरिरहेको बताए ।

मन्त्रालयमा ऐनाको ढाँचा बुझाइएको र मन्त्रालयले ऐन निर्माणका लागि छिटो काम थाल्ने उनले जानकारी दिए । चलचित्र पत्रकारलाई सघाउन बोर्ड तयार रहेको उनले बताए ।निर्माता संघका अध्यक्ष नवल खड्काले सम्बन्धित सबै संघसंस्थाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

फिल्म काँडेतार सेन्सरले पास नगरेर अदालत जाने चेतावनी उनले दिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले पनि बोलेका थिए ।

संघले स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगदसहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यस वर्षबाट संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।

सम्बन्धित खवर