हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र - Crazysaptahik.com

हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र

हलमा ‘जारी’को दबदबा कायमै रहँदा चार नयाँ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् भने ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री ।

‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ । विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ को लम्बाइ २ घण्टा ५ मिनेट छ । ड्रामा जनरामा राखिएको यो फिल्ममा आशिर्वाद बराल र आँचल शर्माको शीर्ष भूमिका छ ।

किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तुमा बनेको यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, सरोज खनालको पनि अभिनय छ ।सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ को लम्बाइ २ घण्टा १४ मिनेट छ ।

विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्ममा यसका मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनयात्राको कथा पेश गरिएको छ । अघिल्लो भागपछिको कथावस्तु यसमा छ ।

अन्तरजातीय विवाह गरेर गाउँबाट भागेको यो जोडीले दोस्रो भागमा राजनीति र समाजका अवरोधसँग संघर्ष गर्नुपर्छ ।सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’को लम्बाइ २ घण्टा १० मिनेट छ ।

कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापाको शीर्ष भूमिका रहेको फिल्मले बेलायतको नेपाली समुदायमा भएको त्रिकोणात्मक सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।शुक्रबार नै क्यूएफएक्सका हलमा पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ पनि रिलिज भएको छ ।

एक घण्टा १२ मिनेट लामो यो फिल्मलाई अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेनले निर्देशन गरेकी हुन् । चौथो पटकको प्रयासमा पासाङ ल्हामुले कसरी सर्वोच्च शिखर आरोहण गरेर पहिलो नेपाली महिलाको कीर्तिमान राखिन् भन्ने वास्तविक कथावस्तु यसले पेश गर्छ ।

फिल्ममा पासाङ ल्हामुको हिमाल आरोहणका वास्तविक दृश्य र चित्रहरु समेटिएका छन् ।आजदेखि तेस्रो सातामा चलिरहेको ‘जारी’ पनि उच्च शोसहित प्रदर्शन भइरहेको छ । ‘छक्कापञ्जा ४’ शुक्रबारदेखि मल्टिप्लेक्सबाट हटेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.