‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका - Crazysaptahik.com

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् ।

यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको यसपटकको भ्रमण चाहिं विशुद्ध ब्युटी विथ पर्पसका लागि देखिएको छ । अहिलेसम्म न्युयोर्क, सियाटल र बाल्टिमोरमा च्यारिटी डिनर निश्चित भएको छ भने एक राज्यको कार्यक्रम तय हुन बाँकी छ । यो जमघटमार्फत उनले आर्थिक सहयोग जुटाउनेछिन् ।

यसअघिको अमेरिका भ्रमणमा उनले गैरआवासीय नेपालीलाई यो परियोजनामा सघाउन आग्रह गरेकी थिइन् । ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकाको अपरदाङ गढीमा राष्ट्रिय विद्युत प्रसारण पु¥याएकी छन् ।

यसबाहेक गाउँमा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्नेदेखि केही सार्वजनिक शौचालय निर्माण गर्ने उनका योजना छन् ।यसका लागि कम्तीमा ५५ लाखदेखि ६५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

अमेरिका मात्र होइन, उनले नेपालमा समेत अर्थ संकलन गरिरहेकी छन् । राष्ट्रिय वाणिज्य बैंकले ७ लाख रुपैयाँ सघाएको छ भने पोखरामा आयोजित च्यारिटी डिनरमा पनि अर्थ संकलन भएको थियो ।

मिस वर्ल्ड सयो, सन् २०२३ को अन्त्यमा हुने

आगामी मे महिनामा हुने भनिएको मिस वर्ल्ड प्रतियोगिताको मिति सरेको छ । आयोजकले द हिडन ट्रेजरलाई पत्र लेख्दै अक्टोबर, नोभेम्बर र डिसेम्बरमा प्रतियोगिता हुने जनाएको छ । ‘प्रतियोगिता सरेको पत्र पाएका छौं र कारण खुलाइएको छैन,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

आगामी जेठ १३ गते नयाँ मिस नेपालको घोषणा हुनेछ । तर सन् २०२३ को अन्त्यमा हुँदा नयाँ मिस नेपाललाई ब्यूटी विथ पर्पसका लागि तयारी हुन समय उपलब्ध हुनेछैन । प्रतियोगितामा ढिलाइ हुने भए पनि हिडन ट्रेजरले प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने भएको छ ।

सम्बन्धित खवर