प्रियंका चोपडा स्टारर जासूस थ्रिलर ‘सिटाडेल’को समीक्षा कस्तो छ ? - Crazysaptahik.com

प्रियंका चोपडा स्टारर जासूस थ्रिलर ‘सिटाडेल’को समीक्षा कस्तो छ ?

जासूसको कथामा आधारित प्रियंका चोपडा र रिचर्ड म्याडन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’ शुक्रबारदेखि अमेजन प्राइममा रिलिज भएको छ । २५० मिलियन डलरको बजेटमा बनेको यो सिरिजलाई अहिलेसम्मकै महंगो बताइएको छ ।

रिलिज भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा पनि सार्वजनिक गर्न थालेका छन् । समग्रमा यो सिरिजले औसत समीक्षा प्राप्त गरेको छ । हलिउड रिपोर्टर म्यागजिनले यसलाई सुखद समीक्षा दिएको छ ।

म्यागजिनका समीक्षक डेनियल फेइनबर्ग लेख्छन्, ‘न त झूर न त गेम चेन्जर ।’ शुद्ध मनोरञ्जनका लागि दर्शकले हेर्न सक्ने भन्दै उनले चोपडा र म्याडेनको कमेस्ट्रीको प्रशंसा गरेका छन् । बलिउड हंगामाले ‘पैसा असुल र मनोरञ्जक’ भन्दै यसलाई प्रशंसा गरेको छ ।

‘यो एपिसोडले दर्शकलाई आगामी एपिसोडलाई धैर्य गर्न प्रेरित गर्नेछ । सिटाडेल सबै समयको वेब श्रृंखलामध्ये एकको रुपमा उभिन सक्छ,’ यो बलिउड पोर्टलले लेखेको छ ।हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘प्रियंका चोपडाको यो सिरिज निकै महंगो छ तर औसत भन्न सकिन्छ ।

यसका सम्पूर्ण ब्रह्माण्ड निर्माणको औचित्य प्रमाणित गर्न पर्याप्त आकर्षक छैन ।’ यो अखबारले सिटाडेलबारे केही आलोचनात्मक समीक्षा दिएको छ । जासूसीको बासी कथामा यसअघि धेरै सिरिज हेरिएको यसको टिप्पणी छ ।

साढे तीन रेटिङ दिंदै कोइमोइले प्रियंका र रुसो ब्रदर्सको यो सिरिजले विश्वलाई हेर्ने ढोका खोल्ने टिप्पणी गरेको छ । ‘सिटाडेल एक विश्वस्तरको फ्रेन्चाइजी हो र यसले विश्वव्यापी दर्शकलाई आमन्त्रित गर्दछ ।

यो अझै पनि समावेशीकरण र विविधतातर्फको ठूलो कदम हो । जसलाई हामी प्रशंसा गर्नुपर्छ,’ कोइमोइले लेखेको छ । चार रेटिङ दिंदै गार्जियनले यसलाई दर्शनीय भनेको छ । समग्रमा यो सिरिजलाई लिएर मिश्रित समीक्षा प्राप्त भएको छ । दर्शकले अमेजन प्राइममा यसलाई हेर्न सक्नेछन् ।

सम्बन्धित खवर