चार्ल्स तृतीयको राज्याभिषेकमा टम क्रुज, सोनम कपुरसहित सेलिब्रिटी सहभागी हुने - Crazysaptahik.com

चार्ल्स तृतीयको राज्याभिषेकमा टम क्रुज, सोनम कपुरसहित सेलिब्रिटी सहभागी हुने

बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक लण्डनको वेस्टमिन्स्टर एबेमा आगामी शनिबार हुँदैछ । यसपछि चार्ल्स आधिकारिक रुपमा बेलायतका राजा घोषित हुनेछन् । बेलायतमा एक साता राज्याभिषेक मनाइनेछ ।

उक्त अवसरमा केही विश्वचर्चित सेलिब्रिटी पनि सहभागी हुने भएका छन् । यसअघि सन् १९५३ मा चार्ल्स तृतीयकी आमा महारानी एलिजाबेथ द्वितीयले राज्याभिषेक गरेकी थिइन् । उनको निधनपछि चार्ल्स तृतीयले सिंहासन सम्हाल्नेका हुन् ।

राज्याभिषेकमा हलिउड अभिनेता टम क्रुज, सांगीतिक समूह द पुसीक्याट डल्सदेखि बलिउड अभिनेत्री सोनम कपुरसम्मले सहभागिता जनाउने भएका छन् । राज्याभिषेकको क्रममा हुने कन्सर्टमा पनि यी सेलिब्रिटी सहभागी हुनेछन् ।

भेराइटी म्यागजिनका अनुसार समारोहमा सोनम कपुरले कमनवेल्थको भर्चुअल क्वायरको परिचय दिनेछिन् र छोटो भाषण गर्नेछिन् । अहिले सोनम पति आनन्द आहुजा र छोरा वायुसँग लण्डनमा छिन् । सोनम पहिलो पटक ब्रिटिश राजघरानाको कार्यक्रममा सहभागी हुन लागेकी हुन् ।

टम क्रुज सन् १९९७ मा राजकुमारी डायनाको अन्त्येष्टिमा सरिक भएका थिए । विनी द पूहलाई महारानी एलिजाबेथको ८० औं जन्मजयन्तीको अवसरमा बकिङ्घम प्यालेस गार्डेनमा आयोजना गरिएको बाल पार्टीमा आमन्त्रित गरिएको थियो ।

महारानी एलिजाबेथको प्लेटिनम जुबलीको अवसरमा म्युजिकल समूह द पुसीक्याट डल्सकी प्रमुख गायिका निकोल शेरजिंगरलाई पनि निमन्त्रणा गरिएको थियो । सोनम कपुर, विनी द पूह र द पुसीक्याट डल्सका साथै गायक लियोनेल रिची र केटी पेरी पनि राज्याभिषेक समारोहमा उपस्थित हुनेछन् ।

बेलायती अभिनेता ह्यु बोनभिलले कन्सर्ट होस्ट गर्नेछन् । बेलायतका राजा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड लगायत १४ राष्ट्रमण्डलका राजा पनि हुन् ।

सम्बन्धित खवर