पाल्पा महोत्सवमा शिव परियारको प्रस्तुतिमा झुमे दर्शक - Crazysaptahik.com

पाल्पा महोत्सवमा शिव परियारको प्रस्तुतिमा झुमे दर्शक

पाल्पा सदरमुकाम तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा गायक शिव परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शिवले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए ।

उनले आफ्ना हिट गीतमार्फत डेढ घण्टा प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीलेले’, ‘क्या दामी भो’देखि ‘धोकेबाज हौ तिमी’सम्मका शिवका झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक रमाए ।

उनको प्रस्तुति हुँदै गर्दा आएको हावाहुरीले मेलास्थल टुँडिखेल धुलाम्ये हुँदै गएपनि दर्शकहरु सांगीतिक माहोलमै रमाइरहे । शिवको प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । शनिबार शिवसँगै दीपु मगर, रुपेश कार्की, शकुन्तला गैरेलगायतको समेत प्रस्तुति रहेको थियो ।

सार्वजनिक बिदा परेकाले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकहरुको भीडभाड देखिएको थियो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवमा शनिबार १० हजार बढी दर्शक उपस्थित भएको जनाइएको छ ।

महोत्सव प्रचारप्रसार उपसमिति संयोजक बिदुर घिमिरेले शनिबार एकैदिन १० हजार टिकट बिक्री भएको जानकारी दिए । ‘दर्शकको उपस्थिति देख्दा हामी एकदमै उत्साहित छौं,’ उनले भने ।

वैशाख १४ गतेबाट सुरु भएको १३ औं संस्करणको महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ ।आइतबार लोकगायक खेम सेञ्चुरी, शिरीष देवकोटा लगायतले प्रस्तुति दिने सांस्कृतिक संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

राजु परियारले दोस्रो दिन प्रस्तुति दिइसकेका छन् भने पशुपति शर्मा, खुमन अधिकारीदेखि शान्तिश्री परियार, ज्योति मगर, एलिना चौहानसम्मका कलाकारहरुको प्रस्तुति महोत्सवमा रहनेछ । पाल्पा उद्योग वाणिज्य संघले झण्डै पाँच वर्षपछि तानसेनमा महोत्सव आयोजना गरेको हो ।

सम्बन्धित खवर