कला साहित्य उत्सव पृथक् बन्नेछ - Crazysaptahik.com

कला साहित्य उत्सव पृथक् बन्नेछ

भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरे नगरपालिका नेपाली कला साहित्यको उद्गमस्थल नै हो । बेला–बेलामा साहित्यिक गतिविधिहरु हुने यस नगरको गहना नै साहित्य कला र संस्कृति हो । यही साहित्यिक कला र संस्कृतिको उत्थानका लागि यस नगरमा २०७५ भदौ २६ गते अगुवा जनप्रिय गायक विरध्वज शिवालाई अध्यक्ष चुनेर ‘कला साहित्य प्रवद्र्धन समिति’ गठन गरिसकेको छ । त्यसमा साहित्य, गीत संगीत, नाट्य, चित्रकला र मूर्तिकला गरी ४ विभाग गठन गरेर आ–आफ्नै विभागले काम गरिरहेका छन् । यस नगरकै साहित्यिक र साँस्कृतिक गतिविधिको कुरा गर्दा २५ वर्षको इतिहांस केलाउँदा अहिलेका साविक तीन वटा गाविसहरु पथरीशनिश्चरे र हसन्दहमा उर्वराकाल झै साहित्यिक गतिले झ्याङ्गिने अवसर पाएको थियो ।

नगरपालिका बनेपछि केही वर्षमै निष्क्रिय बनेको सृजना क्षेत्र पुनः जागरण भन्दा माथि उठ्न सकिरहेको छैन । अझै पनि हामी भित्र संकीर्ण सोच पैदा भइरहेको छ । यस्तै महान अभियानमा एउटा पाटो आर्ट फ्युजन हुँदै भाषा, कला, साहित्य प्रवद्र्धनतिर अघि बढेको छ । त्यसैले हामी गौरवान्वित बन्ने ठाउँ त बनाउनका लागि अझै बाँकी छ । एभरेष्ट आर्ट फ्युजनले पछिल्ला दिनहरुमा उद्यमशील तालिम र सेरामिक तालिमलाई निरन्तरता दिइरहेको छ । अझ यस पटक नगरपालिकाबाटै सेरामिक तालिमको लागि आफ्नो भगीरथ प्रयत्न अगाडि बढाइरहेको छ । हामीमा अझै जागृत भावना पलाएको छैन, अरुले काम गरिदिए पुग्छ भन्ने सोचाइबाट पनि हाम्रो उन्नति हुन सकिरहेको छैन । बैठक बस्दा कतिपय साथीहरु बिशेष काम देखाएर भाग्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ ।

हामीले आफ्नो काम गर्नु थप उर्जा प्रदान गर्नुपर्ने हुन्छ । कामको थप जिम्मेवारी वोधबाट अगाडि बढ्ने मौका प्रदान गर्दछ । हामीले साँच्चै भन्नुपर्दा भाषा कला र साहित्य भित्रको लगाव पनि राखेको छैनौं । बाहिरी सतही कुरा गरेर भन्दा पनि काम गर्नुपर्दछ । यो चोटी प्रथम पटक यस क्षेत्रका साहित्य अनुरागीको प्रेरणको स्रोत भनेकै पथरीम प्रथम पटक कला र साहित्यको उत्सवको आयोजना गर्दा हामी आफै भाग्यमानी बनिरहेको अनुभूति ‘फिल’ गरिरहेका छौं । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा ३ लाख बजेट विनियोजन गरिएको छ । यस बजेटबाट नगर भित्र साहित्य कला सम्वद्र्धन गर्न सकिएला तर त्यस बजेट सही सदुपयोग गरेर सन्देशमूलक कार्यक्रम गरेर नगरलाई नयाँ उत्साह दिनुपर्ने हुन्छ । त्यसका लागि जेठ–१३ गते पत्रकार सम्मेलनबाट २०७६ जेठ १८ गतेका दिन विभिन्न बहुजातीय मौलिक साँस्कृतिक झाँकीको प्रस्तुति रहने र मौलिक गीत र नृत्य जस्ता आकर्षक कार्यक्रम हुने तय गरिएका छन् । चित्रकला/मूर्तिकलाको प्रदर्शनीले थप रौनकता त थप्ला तर कहिल्यै पनि नगरिएको कला र साहित्यको दृश्यद्वारा देखाइने कार्यपत्र प्रस्तुत गर्नुपर्दा केही त पक्कै हौसला प्रदान होला ।

त्यसमा यस नगरकै धरोहर साहित्यका स्रष्टा स्व. चन्द्रमान (सीएम) कन्दङवालाई २५ हजारको पुरस्कार राशी चित्रकार सरोजा खड्गीले बनाएको मुहार चित्र र ताम्रपात्रले सम्मान दिइने कार्यक्रम पनि प्रथम पटक नगरपालिकाबाट हुने हुँदा साहित्यप्रेमी साथीहरुमा एक प्रकारको खुशी नै छाएको छ । त्यसरी नै नेपाल टेलिभिजनबाट शुक्रबार ७ ः ३० मा प्रसारण हुने ‘दोबाटे’ हाँस्य टेलिश्रृङखला टिमबाट देखाउने प्रहसन पनि कम दमदार छैन, साँस्कृतिक झाँकी बिशेष पथरीको रत्नचौकबाट परिक्रमा गरी सिन भिलेज पाटी प्यालेसमा विशेष समारोह हुने थप उत्साह प्रदान गर्नेछ ।

यसैगरी जेठ–१९ गते कार्यक्रममा साहित्यका क्षेत्रमा चर्चित व्यत्तित्वहरुबाट मोरङको साहित्यको अवस्थाको प्रस्तुति रहने योजनाले पथ तरङ्ग पैदा गर्नेछ । त्यसमा पनि अझ थप उर्जा प्रदान गर्नका लागि प्रदेश नं १ का प्रतिनिधिमूलक सर्जकका सृजनामा प्रस्तुतिले साँच्चै नै साहित्यिक माहौल अत्यन्त रोमाञ्चक बन्ने छ, भन्ने आशा गरिएको छ । हाम्रा मौलिक पहिचानलाई अझ बढावा दिनुपर्ने र उनीहरुमा संस्कृति फुल्न–फल्न दिनुपर्छ ।

मौलिक गीत र मौलिक नृत्य जस्ता हाम्रा संस्कृतिलाई मान्यता दिने यस नगरको उर्जाशील साहित्यिक गतिविधिले नयाँ आयाम थप्नेछ । त्यसमा पनि बर्षौदेखि नगरपालिकाबाट गरिएको यस कार्यक्रम हामी भित्र रहेका कला साहित्यले पक्कै पनि नगरको लागि एउटा प्रेरणा दिन सकिनेछ, भन्ने विश्वास गरिएको छ ।
विगतमा जे–जस्ता क्रियाकलाप भए पनि कला–साहित्यमा मानिसको प्रचुर सम्भावना हुन्छ । यसलाई बाहिर ल्याउन दिनुपर्छ र नगरमा देखिएका साहित्यिक माहौल नयाँ र पृथक् बन्नेछ । आगामी दिनमा यसले अझ थप मौलिक सृजनात्मक काम लिएर बढ्नेछ र यस नगरको गरिमा उचो पार्नेछ ।

– पथरीशनिश्चरे–१, एकताचौक, मोरङ

सम्बन्धित खवर