वाल्मीकिको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न - Crazysaptahik.com

वाल्मीकिको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
आज विद्यालयको प्राङ्गणमा सजिसजाउ गरिएको दक्षिण फर्किएको स्टेजअगाडि टेन्टमुनि बाक्लो रूपमा अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

पथरी शनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष नैना राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक नोवल किशोर खनालले गर्नुभएको थियो। विद्यालयका शिक्षक विवेक न्यौपानेको दमदार उद्घोषणसँगै प्रिन्सिपल चन्द्र दुलालले सटिक स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसपछि दुई वटा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। ‘हरेक रात सपनीमा’ बोलको गीतमा छात्राहरूको नृत्य तथा ‘लाग्दछ मलाई रमाइलो’ बोलको गीतमा शिक्षिकाहरूको नृत्यले उपस्थित सबैलाई न्यानो स्वागत गरिएको थियो ।

कार्यक्रममा निर्देशक खनालले विद्यालयको हालसम्मको प्रगति तथा भावी योजनाबारे आफ्नो प्रस्तुति राख्नुभएको थियो। यसैगरी विद्यालयका विद्यार्थीहरूको तर्फबाट कक्षा–९ की छात्रा मिस्मिका ढकालले गहकिला शब्दमार्फत विद्यालय र अभिभावकको भूमिकाबारे आफ्ना विचार व्यक्त गर्नुभयो।

प्रमुख अतिथि वडाध्यक्ष नैना राईले विद्यालयले स्थापना कालदेखि हालसम्म हासिल गरेको प्रगतिले पथरी शनिश्चरेका नगरवासीलाई खुशी बनाएको बताउनुभयो। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले गायन, नृत्य, नाटक तथा ¥याम्स प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.