
दुई चर्चित एसियाली – नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ र फिलिप लिमले डिज्ने प्लसको आगामी सिरिज ‘अमेरिकन बर्न चाइनिज’मा सहकार्य गर्ने भएका छन् । उनीहरुले चिनियाँ पौराणिक कथामा सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएका पात्रको कस्ट्युम डिजाइन गर्ने भएका हुन् ।
उनीहरुले चिनियाँ–अमेरिकी फेसन डिजाइनर जोए क्रेटनको लागि फेसन डिजाइन गर्नेछन् । ती पात्रहरुमा हलिउड अभिनेत्री मिचेल यो र डेनियल वुले अभिनय गर्दैछन् । जिन लुआन याङ लिखित उपन्यासबाट प्रभावित यो सिरिजले उच्च शिक्षा अध्ययन गरिरहेको एक किशोरले घरजीवन र विद्यालयको सामाजिक जीवनलाई सन्तुलन मिलाउन गर्ने संघर्षलाई चित्रण गर्छ ।
विद्यालय तहको पहिलो दिनमै उसले विदेशी साथीलाई भेट्दा उसमा पौराणिक देउताप्रति उत्पन्न हुने सोचाइलाई फिल्मले चित्रण गर्छ । एक्सन–कमेडी यो सिरिजले पहिचान, संस्कृति र परिवारको कथा प्रस्तुत गर्छ । कार्यकारी निर्माता मेल्भिन मारले डेडलाइन हलिउडसँग भने, ‘प्रबल र फिलिप दुवैजना अविश्वसनीय रुपमा प्रतिभाशाली डिजाइनर हुन्, जसले फेसन संसारमा छाप छाडेका छन् ।
उनीहरु अमेरिकन बर्न चाइनजिको रचनात्मक टोलीमा सामेल हुन लागेकोमा खुसी छौं ।’ सिरिजमा अभिनेत्री योले गौनियन पात्रको भूमिका निर्वाह गरेकी छन् । सिंगापुरमा जन्मिएका फेसन डिजाइन प्रबल नेपालमा हुर्किएका थिए । गुरुङका डिजाइनहरु यसअघि पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र बेलायती राजकुमारी एलिजाबेथ मिडल्टनले पहिरिएका छन् ।

