‘डक्टर स्ट्रेन्ज’ र ‘लक्का जवान’को दबदबाबीच कार्म स्टारर फिल्म ‘षट्कोण’ आगामी शुक्रबार देशव्यापी रिलिज हुँदैछ । रंगमञ्चका ठूला नाम समावेश मनोवैज्ञानिक थ्रिलरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरे ।
अभिनेता कार्म र भोलाराज सापकोटाले बक्स अफिस सफलता मात्र सबथोक नरहेको बताए । आफूहरु स्टार बन्न फिल्ममा नआएको भन्दै उनीहरुले कन्टेन्ट र बक्स अफिस सफलताबीच सन्तुलन जरुरी रहेको समेत बताए ।
पत्रकार सम्मेलनमा निर्देशक मिलन काप्री, निर्माता विराज कडरिया, कलाकारहरु कार्म, भोलाराज र लोकेन्द्र लेखक उपस्थित थिए । निर्देशक काप्रीले नेटफ्लिक्स सिरिज ‘मनी हाइस्ट’बाट फिल्म प्रभावित नभएको दाबी गरे ।
‘काल्पनिक कथामा आधारित अपराधको घटनामा फिल्म आधारित छ । ‘मनी हाइस्ट’ सिरिजबाट प्रभावित होइन । यसमा ६ जना पात्रलाई चित्रण गरिएको छ,’ काप्रीले भने, ‘फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन ।
नेपालमा बनिरहेका साइकोलोजिकल थ्रिलरभन्दा भिन्न तत्व यसमा समावेश छ ।’ यही फिल्मबाट उनले फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा कार्मले एक अपराधको घटना रिपोर्टिङ गर्न निस्किएको फोटो पत्रकारको चरित्र चित्रण गरेका छन् ।
फिल्म मकवानपुर भीमफेदीमा भएको एक घटनासँग प्रभावित भएको कार्मले बताए । भीमफेदीमा पनि फिल्म छायांकन समेत गरिएको छ । कार्मले यसअघि अन्य फिल्ममा पनि फोटोग्राफरको भूमिका निर्वाह गरेका छन् ।
आफू स्टेरियोटाइपका चरित्रबाट मुक्त हुन खोजे पनि सोहीअनुसारका स्क्रिप्ट आफूकहाँ आइपुग्ने गरेको अनुभव उनले सुनाए । फिल्मको लागि बक्स अफिस र कन्टेन्ट दुवै महत्वपूर्ण हुने उनको भनाइ छ ।
चरित्र चित्रण गर्दा पत्रकारिता पेसा चुनौतीपूर्ण रहेको अनुभव आफूले गरेको कार्मले सुनाए । उनले कन्टेन्ट नै राजा भएको बताए । बलिउडमा रणवीर कपुरसँग अभिनय गरेका भोलाराजले ‘षट्कोण’ जस्ता फिल्मको कथाले नेपाली फिल्ममा अर्थ राख्ने बताए ।
‘हामीले साना र महत्वपूर्ण कथा पनि भन्नु जरुरी छ । लार्जर द्यान लाइफका कथाभन्दा यस्ता कथामा मानवीय चाख हुन्छ,’ सापकोटाले भने । अर्का अभिनेता लोकेन्द्र लेखकले पछिल्लो समय नेपाली फिल्मले मौलिकता गुमाइरहेको बेला ‘षट्कोण’को आगमनले अर्थ राख्ने बताए ।
‘पछिल्लो समय फिल्मले गुमाएको मौलिकतालाई नाटकले आत्मसात गरेको थियो । हामीले त्यो संकट बुझेरै षट्कोण बनाएका छौं,’ उनले भने । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ ब्यानरमा निर्माण भएको फिल्म वैशाख २३ गतेदेखि देशभर प्रदर्शनको तयारीमा छ ।
कोरोना महामारीअघि निर्माण भएको फिल्मको सम्पूर्ण काम सकिए पनि अहिले रिलिजको लागि उत्तम समय भएको निर्माता विराज कडरियाले बताए । फिल्ममा सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ ।
शिशिरको पटकथा रहेको फिल्मको संवादलाई महेश दवाडीले लेखेका हुन् । आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डी काप्रीको सम्पादन छ ।