
आगामी जेठ १३ गते नेपाली बक्स अफिसमा दयाहाङ राई स्टारर ‘कबड्डी ४’ र टम क्रुज अभिनित हलिउड फिल्म ‘टप गन माभेरिक’बीच प्रतिस्पर्धा हुने भएको छ । प्यारामाउन्ट पिक्चर्सको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले ‘टप गन’को प्रदर्शन मिति घोषणा गरेको हो ।
मल्टिप्लेक्समा यी दुवै फिल्मले एकअर्काको व्यापारलाई प्रभावित पार्ने अनुमान गरिएको छ । ‘मिसन इम्पोसिबल’ फेम्ड टम क्रुजको नयाँ फिल्म ‘टप गन’ हलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । फिल्ममा क्रुज एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।‘कबड्डी ४’ पनि नेपालमा सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक हो ।
जसले गर्दा यी दुवै फिल्मले एकअर्कालाई प्रभावित पार्न सक्नेछन् । उसो त, ‘कबड्डी ४’ले रिलिजअघि नै लगानी उठाइसकेको छ र ऊ हलबाटै पैसा कमाउनुपर्छ भन्ने दबाबमा छैन । जसले गर्दा ‘टप गन’को मल्टिप्लेक्स प्रतिस्पर्धामा ‘कबड्डी ४’ निर्मातालाई सहज नै हुनेछ ।
‘कबड्डी ४’ले ६० प्रतिशत शो पाउँदा ‘टप गन’ले ४० प्रतिशत पाउने अनुमान गर्न सकिन्छ । पछिल्लो समय प्रतीक्षित नेपाली फिल्महरुसँग प्रतीक्षित विदेशी फिल्म जुधिरहेका छन् । ‘ए मेरो हजुर ४’सँग ‘केजीएफ च्याप्टर २’को प्रतिस्पर्धा भएका थियो ।

