नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज–२’लाई मुस्किल - Crazysaptahik.com

नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज–२’लाई मुस्किल

बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो ।‘स्पाइडरम्यान : नो वे होम’को नेपालमा लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस थियो ।

‘स्पाइडरम्यान’को यो लाइफटाइम कारोबारलाई भेटाउन ‘डक्टर स्ट्रेन्ज २’लाई मुस्किल पर्ने देखिएको छ । एप्पलकी जेनिश पहारीले  भनिन्, ‘स्पाइडरम्यानको लाइफटाइम कलेक्सनलाई भेटाउन अब ‘डक्टर स्ट्रेन्ज २’लाई कठिन छ ।

लगभग त्यो सम्भावना सकिएको छ ।’ क्यूएफएक्स मल्टिप्लेक्सले अहिले पनि ‘डक्टर स्ट्रेन्ज–२’लाई एकदर्जन शो दिएको छ । पहिलो सप्ताहन्त २ करोड ओपनिङ गरेको यो फिल्मको पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा समेत राम्रै कमाइ गरेको थियो ।

फिल्ममा नेपालका दृश्य समेटिएको र नेपालमा हलिउड सुपरहिरो पात्रको क्रेज राम्रो भएकाले पनि ‘डक्टर स्ट्रेन्ज’लाई दर्शक तान्न मुस्किल भएन । तर केही महिनाअघि रिलिज भएको अर्को हलिउड सुपरहिरो फिल्म ‘मर्बियस’ भने खासै चलेन ।

सम्बन्धित खवर