ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् । उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ ।
कोभिड–१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन् । उनले सन् २०२१ मा एक कानुन ल्याउँदै एसियालीमाथिको आक्रमणका घटनालाई रोक्न, अनुसन्धान गर्नेतर्फ अघि बढ्ने बताएका थिए ।
पछिल्लो समय प्रबल गुरुङसहितका एसियाली फेसन डिजाइनरले समेत बाइडेन प्रशासनमाथि दबाब बढाएका छन् ।सन् २०२१ मा बीटीएसले एसियाली समुदायविरुद्धका घृणाप्रेरित आक्रमण रोक्न भन्दै विज्ञप्ति जारी गरेको थियो ।
दक्षिण कोरियाले यसैवर्ष राष्ट्रसंघीय महासभामा पनि बीटीएसलाई विशेष सद्भावना दूतको रुपमा पठाएको थियो । बीटीएस ब्यान्डलाई दक्षिण कोरियाको ‘सफ्ट पावर’ समेत मानिन्छ ।