तीन वर्षपछि ‘आँप’ जोडी एकसाथ, आँचलको निम्तोमा पलले सँगै हेरे ‘नाइँ नभन्नु ल ६’ - Crazysaptahik.com

तीन वर्षपछि ‘आँप’ जोडी एकसाथ, आँचलको निम्तोमा पलले सँगै हेरे ‘नाइँ नभन्नु ल ६’

तीन वर्षपछि ‘आँप’जोडी एकसाथ देखिएको छ । आँचल शर्माको निम्तोमा पल शाह ‘नाइँ नभन्नु ल ६’ हेर्न डेढ वर्षपछि हलमा पुगे । उनीहरुले आइतबार राति क्यूएफएक्सको लबिम हलमा सँगै फिल्म हेरे ।

फिल्म स्क्रिनिङपछि मिडियासामु कुरा गर्दा यी दुई केही भावुक सुनिएका थिए । कुराकानीमा एकअर्काप्रति पल र आँचलको लगाव प्रष्टै देखिन्थ्यो । आँचलले उद्योगकै ‘वान एण्ड वन्ली’ साथी भन्दै पलप्रति अनुराग दर्शाइन् ।

मिडियाकर्मीले आँपजस्तै देखिने रङको पहिरन लगाएको भन्दै उनीहरुलाई कटाक्ष गर्दा आँचलले यो आँपको मौसम भएकाले ‘आँप’ जोडी पनि सिजनमै आउने गरेको बताइन् । ‘नाइँ नभन्नु ल ६’ हेर्दा आँचलको अभिनयले मन जितेको र उनको अभिनय कलामा सुधार आएको पलले बताए ।

‘उहाँको काम बेस्ट लाग्यो । फिल्मको राम्रो पक्ष नै उहाँको एक्टिङ लाग्यो । एक्टिङ स्किल इम्प्रुभ भएको रहेछ,’ पलले भने । यो फिल्म भन्ने बित्तिकै आफ्नो भावना जोडिएको पलले सुनाए ।आँचल र आफूलाई लिएर फिल्मको अफर आइरहेको भन्दै पलले निकट भविष्यमा सहकार्य हुनसक्ने पनि बताए ।

‘पल र आँचलले फिल्म गर्नुपर्छ भनेर अफर आइरहेको छ । यसका लागि पटकथा बलियो हुनुपर्छ । एक दिन हुन्छ होला सायद,’ पलले भने । डेढ वर्षपछि फिल्म हलमा आउँदा नौलो अनुभव भइरहेको सुनाउँदै आँचलको अघिल्लो फिल्म ‘झिंगेदाउ’ले राम्रो व्यापार गरेको कुरा आफूले सुनेको उनले बताए ।

‘मैले डेढ वर्षपछि हलमा मुभी हेरें । फोन चलाउँदा पनि नयाँ अनुभव भएको थियो पहिला । फिल्म हलमा आउँदा पनि नयाँ अनुभव भएको छ । कति ठूलो मोबाइल जस्तो भएको छ,’ उनले भने ।

पल र आँचल दुवैले ‘नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेका थिए । त्यसपछि उनीहरुले जोनी जेन्टलम्यान र शत्रुगते फिल्ममा सहकार्य गरे । पलले आफूलाई ‘नाइँ नभन्नु ल ४’ मन पर्ने शृंखला भएको समेत बताए ।

सम्बन्धित खवर