माइतीघर पुगेर कलाकारले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता - Crazysaptahik.com

माइतीघर पुगेर कलाकारले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता

वैज्ञानिक महावीर पुनको आन्दोलनमा कलाकारले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबारदेखि पुनले काठमाडौंको माइतीघरमा गरेको आन्दोलनमा कलाकारहरु पुगेर समर्थन जनाएका हुन्।

‘छक्कापञ्जा ४’ का कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन व्यक्त गरे । कलाकारहरु महेश त्रिपाठी, मनिष राउत र हिमेश पन्तले पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्रिपाठीले लेखेका छन्, ‘कसैलाई पनि आफ्नो परिवारसँग टाढा रहेर, आफ्नो माटो छोडेर रहरले होइन बाध्यताले पुग्नु परेको हुन्छ । हरेक क्षेत्रका सिर्जनाहरुलाई सम्मान गर्ने, अनुसन्धान र नवप्रवर्तनलाई संरक्षण गर्ने नीति अब राज्यको बनोस् ।

यो आन्दोलन निर्णायक आन्दोलन हुनेछ । त्यसैले म आज माइतीघर पुगें, मेरो ऐक्यबद्धता छ ।’ महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायत विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बसेर आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खवर