सुबानी मोक्तानको ‘बानी’ गीत विवादमा, संगीतकारबाट पहिल्यै किनेको आर्जन पाण्डेको दाबी - Crazysaptahik.com

सुबानी मोक्तानको ‘बानी’ गीत विवादमा, संगीतकारबाट पहिल्यै किनेको आर्जन पाण्डेको दाबी

गायिका सुवानी मोक्तानको नयाँ गीत ‘बानी’ विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले उक्त गीतको अधिकार चार वर्षअघि नै संगीतकार कमल खत्रीबाट आफूले किनेको दाबी गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै आर्जनले आफू अन्यायमा परेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । सोमबार मात्र आर्जनले आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरी हेरी’ युट्युबमा सार्वजनिक गरेपछि सुवानीको गीत विवादमा तानिएको हो ।

यी दुवै गीतको हुकलाइन, शब्द र लय दुरुस्तै छ । रोचक कुरा के छ भने यी दुवै गीतको संगीतकार र एरेन्जर एउटै व्यक्ति हुन् । संगीतकार कमल खत्री हुन् भने एरेन्जर रिकेश गुरुङ हुन् ।

आफूले गीत सार्वजनिक गरेपछि दर्शकले यो गीत सुवानीको हो भनेर लिंक पठाउन थालेपछि आफूलाई थाहा भएको पाण्डेले उल्लेख गरेका छन् । यो गीतको भिडियो दुई वर्ष पहिले नै बनाएको बताउँदै उनले सुवानीले गाएको गीतको हुकलाइन र आफूलाई बेचिएको हुकलाइन एउटै रहेको उल्लेख गरेका छन् ।

सुवानीलाई आफूले फोन गरेर सोध्दा उक्त गीत एरेन्जर गुरुङले सुनाएको र त्यो मान्छेले गाउँदैन भन्दै दिएको भनेर उल्लेख गरेका छन् । गुरुङले आफ्नो अघिल्लो गीत ‘रेलिमाइ’मा पनि यस्तो हर्कत गरेको आरोप पाण्डेको छ ।

‘कुनै स्टुडियोमा एरेन्ज गर्न दिएको गीत अरुलाई सुनाइदिन्छ भने हामीले कसरी ढुक्कसाथ आफ्नो गीत एरेन्ज गर्न दिन सक्छौं ?’ उनले प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘मैले आफूले किनेको त्यो गीत अहिले निकालेपछि धेरैले मलाई यो सुबानीको गीत पो हो भनिरहेका छन् । तर यो त मेरो आफ्नै गीत हो ।

उनीहरूले त्यो गीत निकाल्नुभन्दा पहिला अनि निकालेपछि पनि मलाई केही पनि जानकारी गराएनन् । के भइरहेको हो मलाई ठ्याक्कै थाहा छैन । तर ममाथि अन्याय भयो कि भन्ने लागिरहेको छ ।

उनीहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर अहिले भन्नुको खासै अर्थ छैन ।

त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली संगीतको व्यावसायिकतामा अर्को गल्तीलाई ढाकछोप गरौं कि यसको कानुनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाऊँ, म अलमलमा छु ।’ यसबारे गायिका सुबानीले ‘हामी छलफल गर्ने तयारीमा छौं । म पछि कुरा गर्छु,’ उनले भनिन् ।

सम्बन्धित खवर