‘जारी’ हेरेपछि मन्त्री किरातीको सुझाव : फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस् - Crazysaptahik.com

‘जारी’ हेरेपछि मन्त्री किरातीको सुझाव : फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे ।

निजी सहायक र सुरक्षाकर्मीसँग बसेर फिल्म हेरेका मन्त्री किरातीले एउटा पनि फोन कल नउठाई जारी हेरेको निर्माता मणिराम पोखरेलले बताए । ‘फिल्म हेर्दा उहाँका आँखा रसाएका थिए । हेरुञ्जेल एक कल पनि उठाउनुभएन,’ निर्माता पोखरेलले भने, ‘फिल्म हेरेपछि असाध्यै राम्रो लागेको भन्दै गाउँगाउँमा लगेर देखाउन सुझाव दिनुभयो ।’

फिल्मले आफूलाई बालापनमा लगेको, आफू त्यही संस्कृतिमा हुर्किएको प्रतिक्रिया पनि दिएको पोखरेलको भनाइ छ । फिल्म हेरेपछि मन्त्री किरातीले फेसबुकमा स्टाटस पनि पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जरा, जीवन र जगतको सुन्दर प्रस्तुति ‘जारी’ हेरियो ।’

उपेन्द्र सुब्बाको निर्देशन र रामबाबु गुरुङको निर्माण रहेको फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथा भन्छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँ भन्दा बढी ग्रस कमाइ गरेको छ ।

सम्बन्धित खवर