पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक - Crazysaptahik.com

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि उनीहरुले हड्तालमा उत्रने निर्णय लिएका हुन् । उनीहरुले आफ्ना माग पूरा गर्न स्टुडियोहरुलाई मे १ को मध्यरातसम्मको समयसीमा दिएका थिए तर माग पूरा नभएपछि लेखकहरु हड्तालमा उत्रिएका हुन् ।

लेखकहरुको यो छाता संस्थाले स्टुडियोको आम्दानी र लेखकको पारिश्रमिकबीच ठूलो अन्तर रहेको जनाएको छ । उसले टेलिभिजनमा एपिसोडको संख्याको आधारमा पारिश्रमिक दिनुपर्ने माग राखेको थियो ।

गिल्डले स्ट्रिमिङ राइट पनि खोजेको थियो तर स्टुडियोले यो प्रस्तावलाई अस्वीकार गरे ।हड्तालका कारण टेलिभिजन कार्यक्रम उत्पादन र लेटनाइट शोमा असर पुग्ने अनुमान गरिएको छ । मंगलबारदेखि स्टुडियोहरु अगाडि धर्ना सुरु गर्ने तयारीमा लेखकहरु छन् ।

सन् २००७ मा पनि लेखकले पारिश्रमिकलाई मुद्दा बनाउँदै स्टुडियोविरुद्ध हड्ताल गरेका थिए, जसले गर्दा दुई बिलियन डलर क्षति पुगेको थियो । लेखकले स्ट्रिमिङ प्लेटफर्मबाट पारिश्रमिक वृद्धि र साझेदारीको समेत माग राखेका छन् ।

गिल्डले लेखक र निर्माताका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न खोजिरहेको छ । अहिलेको व्यवस्थानुसार कर्मचारी र लेखकलगायतका लागि प्रतिसाता ७ हजार ४१२ अमेरिकी डलर दिइँदै आएको छ । हड्तालमा उत्रिने लेखकहरु डिज्नी र नेटफ्लिक्सजस्ता ठूला स्टुडियोमा काम गर्ने पनि छन् ।

सम्बन्धित खवर