जेन्डाया र टिमोथी चालमेट स्टारर ‘ड्युन २’ को ट्रेलर सार्वजनिक - Crazysaptahik.com

जेन्डाया र टिमोथी चालमेट स्टारर ‘ड्युन २’ को ट्रेलर सार्वजनिक

यस वर्षको बहुप्रतीक्षित हलिउडको साइन्स–फिक्सन फिल्म ‘ड्युन’ दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ । गत साता विश्व फिल्म बजारको महाकुम्भ मानिने सिनेमाकोनमा ट्रेलर सार्वजनिक भएपनि इन्टरनेटमा चाहिं बिहीबार मात्र आएको हो ।

जेन्डाया  र टिमोथी चालमेट स्टारर यो फिल्मको पहिलो श्रृंखलाले नेपालसहित विश्व बजारमा आक्रामक कमाइ गरेको थियो । सन् २०२१ मा रिलिज भएको अघिल्लो श्रृंखलामा शीर्ष पात्र पौल एट्रेडिस (टिमोथी चालमेट)ले ब्रहण्डको सबैभन्दा खतरनाक र बलौटे ग्रह एरकिसमा परिवार र मानिसको भविष्य सुनिश्चित गर्न दुष्ट शक्तिसँग लडाइँ लडेका थिए ।

फ्रान्क हर्बर्टको उपन्यासमा आधारित यो फिल्म १० एकेडेमी अवार्डका लागि मनोनीत भएको थियो र ६ वटा विधा जित्यो । दोस्रो श्रृंखलाको ट्रेलरमा एरकिस ग्रहका दुश्मनसँग उनको भिडन्तलाई चित्रण गरिएको छ भने जेन्डायासँगको रोमान्टिक दृश्यलाई पनि चित्रण गरिएको छ ।

सिक्वेलमा एट्रेइड्सले चानी (जेन्डाया) र फ्रेमेनसँग मिलेर आफ्नो परिवारलाई नष्ट गर्नेसँग बदला लिन्छन् । यसका लागि उनले आफ्नो प्रेम जीवन र ब्रह्माण्डको भाग्यलाई जोखिममा राख्नुपर्छ । ट्रेलरले पललाई अराकिसको मरुभूमिमा ठूलो बालुवा कीराको पछाडि सवार रहेको देखाउँछ ।

साथै चानी र फ्रेमेनले उनलाई हौसला दिइरहेका छन् । ट्रेलरले आगामी युद्धबारे पनि चित्रण गरेको छ ।यो फिल्म नेपालसहित विश्वभर कात्तिक १७ गते प्रदर्शन हुनेछ ।

सम्बन्धित खवर