फिल्म हुक्का रिलिज हुने भएपछि दङ्ग प्रमीला - Crazysaptahik.com

फिल्म हुक्का रिलिज हुने भएपछि दङ्ग प्रमीला

अभिनेत्री प्रमीला खनाल अहिले दङ्ग छिन् । उनको खुसीको कारण अरू केही नभएर फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ हो । फिल्म १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यसै फिल्म मार्फत उनले पहिलो पटक अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन् ।

थुप्रै फिल्म अभिनय गरे पनि पहिलो पटक अभिनेत्रीको रूपमा देखिँदै गर्दा बेग्लै खुसी मिल्ने प्रमीलाले बताइन् । फिल्म ‘दबाब’ बाट सहभुमिकामा अभिनय यात्रा सुरु गरेकी प्रमीला त्यसपछि धेरै फिल्ममा सहायक चरित्रमा देखिएकी छन् ।

‘हुक्काः एन एब्जर्ड ड्रिम’मा भने उनको मुख्य भूमिका छ । फिल्ममा साहसी र निडर महिलाको भूमिका आफ्नो रहेको उनले सुनाइन् । ‘सम्बन्ध विच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु’, आफ्नो भूमिकाबारे उनले थपिन् ।

प्रमीला पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडालाई ‘हुक्का’ भन्थिन् । वास्तविकता पनि त्यही थियो । तर ‘हुक्काः एन एब्जर्ड ड्रिम’ अभिनयपछि भने प्रमीलाले ‘हुक्का’ फरक रूपमा बुझिन् ।

भनिन्, ‘हुक्कालाई मैले हेर्दा सामान्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रूपमा सम्झन्थे । हुक्कालाई समाजमा प्रतिष्ठाको विषय मानिँदो रहेछ भन्ने फिल्म अभिनयपछि थाहा पाए ।’

प्रमीलाले फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ले समाजकै कथा बोल्ने बताइन् । प्रमीला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छन् । गत वैशाखमा उनी छोराको आमा भइन् । फिल्ममा पनि उनले एउटी छोरीकी आमाको चरित्र निभाएकी छन् ।

‘फिल्मले एउटी आमाको छोरी प्रतिको दायित्व, कर्तव्य र सम्बन्ध निकै प्रगाढ देखाएको छ । अहिले म पनि वास्तविक जीवनमा आमा बनेकी छु । सन्तानसँग एउटी आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ’, प्रमीला भन्छिन्, ‘अहिले छोरालाई बढी समय दिइरहेकी छु ।

यही बेला फिल्मको रिलिज हुने भएकाले फिल्मको प्रमोसनमा हिँड्न नपाउँदा दुःख लागेको छ ।’‘हुम्काः एन एब्जर्ड ड्रिम’लाई प्रमीला ‘लोकल चामल’ मान्छिन् । उनी आम नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भइरहेको बेला यो फिल्मले त्यो स्वाद दिनेमा ढुक्क छिन् ।

‘हुक्काः एन एब्जर्ड ड्रिममा त्यही देखाउन र चखाउन खोजिएको छ । हामीले कुनै भयङ्कर फरक र डर लाग्दो विषय पनि उठाएका छैनौँ । तर जे भन्न र देखाउन खोजेका छौँ । त्यो चाहिँ फरक तरिकाले देखाउने प्रयास गरेका छौँ’, प्रमीलाले थपिन् ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमीलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

सम्बन्धित खवर