विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरियो ।
झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित गायक बद्री पङ्गेनीलाई सम्मान गरियो । दिवंगत गायक प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान गायक तथा संगीतकार भविन ढुङ्गाना तथा कला पत्रकारिता सम्मान २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरियो ।
विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीति संग्रह ‘नजर ३’ विमोचन गरिएको थियो भने उक्त संग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।
विन्ध्यवासिनी फाउन्डेसनले यसअघि ‘नजर’ गीति संग्रहबाट सङ्कलित आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपैयाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् ।