कोतपर्वमाथि फिल्म बन्ने, माघ २१ देखि छायांकन - Crazysaptahik.com

कोतपर्वमाथि फिल्म बन्ने, माघ २१ देखि छायांकन

नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वको कथावस्तुमा आधारित रहेर फिल्म ‘कोतपर्व’ निर्माण हुने भएको छ । ‘नालापानी’ फेम्ड रिमेश अधिकारीले निर्देशन गर्न लागेको यो फिल्मको छायांकन माघ २१ गतेदेखि सुरु हुने भएको छ ।

फिल्मको पटकथा लेखन सकिएको र आफूहरु छायांकनको तयारीमा जुटेको उनले बताए । राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रुपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष लागेको उनले जानकारी दिए ।

महेश दवाडीले पटकथा लेखेको फिल्ममा अहिले चलेका कुनै सुपरस्टार अभिनेतालाई जंगबहादुरको भूमिकामा अभिनय गराइने अधिकारीले बताए । ‘त्यतिबेलाको राजनीति र अहिलेको राजनीतिबीच लगभग समानता छ ।

त्यतिबेलाको राजनीतिले अहिलेको राजनीतिक घटनाक्रमलाई पनि सम्झाउँछ,’ निर्देशक अधिकारीले  भने, ‘नालापानी फिल्मजस्तै इतिहासको नजिक रहेर यो फिल्म बन्नेछ ।’ उनले फिल्म काल्पनिक नहुने बताए ।

काठमाडौं र चितवनमा फिल्मको छायांकन हुनेछ ।‘इतिहासविद्सँग छलफल गरेर तथ्यहरु तयार पारिएको छ,’ उनले भने । फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए ।

चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ ।

विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

सम्बन्धित खवर