‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन - Crazysaptahik.com

‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन

‘अगस्त्य : च्याप्टर १’ मा विजय बराल, प्रमोद अग्रहरि र रविन्द्र झा कलाकारको रुपमा जोडिएका छन् । पछिल्लो समयका यी चर्चित अभिनेताहरु फिल्मको महत्वपूर्ण भूमिकामा रहने लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

फिल्मको शीर्ष भूमिकामा यसअघि सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन जेठ १२ गतेदेखि भारत उत्तरप्रदेशको गोरखपुरबाट सुरु हुने जनाइएको छ ।

गोरखपुरमा २५ दिन र त्यसपछि सप्तरीको राजविराज र काठमाडौंमा छायांकन तालिका छ । नेपाल र भारतमा गरेर कुल ६५ दिन छायांकन गर्ने तालिका रहेको जनाइएको छ । यो एक्सन थ्रिलर फिल्मले हराएकी प्रेमिका खोज्न मुख्य पात्रले गर्ने संघर्षको कथा भन्छ ।

‘लभ डायरिज’ फेम्ड चौधरीको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । सञ्जय लामाले फिल्म छायांकन गर्नेछन् । प्रकाश मल्ल र अनिश तामाङको निर्माण हुने फिल्ममा सौगातको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा मलिकाले अभिनय गर्ने बुझिएको छ ।

फिल्मको बजेट तीन करोड रुपैयाँ पुग्ने जनाइएको छ । डार्क हर्स इन्टरटेनमेन्टले च्याप्टर १ र च्याप्टर २ श्रृंखलाको घोषणा गत पुस १७ गते गरेको थियो ।

सम्बन्धित खवर