अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ ।
परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन समारोहमा सेलिब्रिटीलाई समेत निम्तो दिइएको छ । सोमबारको मेहेन्दी समारोहमा यी दुईलाई बधाई दिन आफन्तजनको बाक्लो उपस्थिति थियो ।
गत मंसिरमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यी दुईबीच अफेयरको हल्ला चलिसकेको थियो । तर अचानक इन्गेजमेन्ट दिंदै उनीहरुले सबैलाई सरप्राइज दिए ।
विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन् । ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो । त्यसपछि उनी टेलिभिजनको कार्यक्रममा व्यस्त भइन् ।