‘ज्याकी’लाई लिएर रेनशा भन्छिन्– दर्शकलाई बुझ्नुपर्ने देखियो - Crazysaptahik.com

‘ज्याकी’लाई लिएर रेनशा भन्छिन्– दर्शकलाई बुझ्नुपर्ने देखियो

बिहीबारदेखि हलमा रिलिज भएको धीरज मगर स्टारर ‘ज्याकी :आई एम ट्वान्टी वान’ले घरेलु बक्स अफिसमा अपेक्षित कमाइ गर्न सकेन । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार मंगलबारसम्म फिल्मको कुल कमाइ ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा छ ।

फिल्मलाई ५० लाखको मार्क गर्न पनि कठिन भइरहेको छ । कम्तीमा आइकोरजस्तो प्रतिष्ठित ब्यानरले निर्माण गरेको यो फिल्मको ओपनिङ पहिलो सप्ताहन्तमा आक्रामक हुने अपेक्षा राखिएको थियो ।

डान्स ड्रामाको रुपमा नयाँ जनरालाई दर्शकले रुचाउन सक्ने आशा राखिएको थियो । तर अपेक्षाविपरीत फिल्मले न्यून ओपनिङ गयो । सोसल ड्रामा फिल्मको बाढी आइरहेको बेलामा निर्माण भएको ज्याकी : आई एम ट्वान्टी वानले नयाँ जनराको मानक त खडा गयो ।

तर यसको व्यावसायिक पक्षलाई हेर्दा दर्शकले यसप्रति किन रुचि देखाएनन् भन्ने कुरा जान्नु महत्वपूर्ण हुन्छ । यसबारे निर्देशक रेनशा राई राणालाई प्रश्न सोधेको थियो ।यो प्रश्नमा उनको जवाफ थियो– अर्को फिल्म बनाउन हतारिएर नहुने देखियो ।

फिल्म उद्योग र दर्शकलाई अझै बुझ्नुपर्छ होला ।’ उनले दर्शकलाई राम्रोसँग बुझेर मात्र फिल्म निर्माणमा अग्रसर हुने बताइन् । ‘उनीहरुलाई बुझेर मबाट जस्तो खालको सिर्जना आउँछ, त्यसको लागि सायद मैले अहिले नै चलचित्र बनाउनु हुँदैन होला ।

दर्शकलाई बुझ्न समय चाहियो । केही समय ब्रेक लिनुपर्छ होला,’ रेनशा भन्छिन् । रेनशाले आफूहरु निर्माता मात्र नभएर दर्शक पनि भएको बताइन् । ‘हामीले पनि नेपाली फिल्म हेरिराख्या हुन्छौं ।

हामी मेकर मात्र होइन, दर्शक पनि हो । यत्तिको फिल्मलाई दर्शकले प्रोत्साहन गर्नुपर्ने हो भन्ने आशा राख्छौं,’ उनले भनिन् । नेपाली बक्स अफिसको पछिल्लो तथ्यांकअनुसार सर्वाधिक कमाइ गर्ने फिल्ममा लगभग शतप्रतिशत सोसल ड्रामा जनराका कथावस्तुमा आधारित छन् ।

छक्कापञ्जा ४, जारी, कबड्डी ४, महापुरुष, दुई नम्बरीजस्ता राम्रो कमाइ गरेका फिल्महरु सोसल ड्रामा जनराकै बनेका हुन् । यी फिल्मको कमाइले दर्शकको रुचि केमा हुन्छ भन्ने कुरालाई पनि दर्शाउँछ ।

सम्बन्धित खवर