‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश काठमाडौं आइपुगे - Crazysaptahik.com

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश काठमाडौं आइपुगे

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन् । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइस मध्येबाट विजेता छान्न उनी बुधवार नेपाल आइपुगेका हुन् ।

उनले टप मोडल, स्वीमर, प्रि–जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । ‘पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु । यसअगाडी कोभिडको कारण आउन सकिँन । यो बसाई मेरो लागि उपलब्धिमुलक हुनेछ’, मौलिङ्गकारले भने, ‘हामी सुप्रानेसनल सबै परिवार हौँ ।

यहाँ आएर निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुसी छु । साथै, नेपालमा समेत यो प्रतियोगिताको सुरुआत भएको छ। आयोजकलाई धन्यवाद भन्न चाहन्छु ।’ उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ ।

नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराईरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारको नेपाल बसाई नौ दिन हुने बताए । ‘उनले हाम्रो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गतिविधिमा सहभागी हुनेछन्’, निर्देशक उपाध्यायले भने ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् ।

‘म आफैँ प्रतियोगीको रूपमा मिस एन्ड मिस्टर सुप्रानेसनलमा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु’, निर्देशक उपाध्यायले भने ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर