‘हल्कारा’को काठमाडौंमा प्रिमियर, फिल्म हेर्न पुगे सेलिब्रिटीदेखि नेतासम्म - Crazysaptahik.com

‘हल्कारा’को काठमाडौंमा प्रिमियर, फिल्म हेर्न पुगे सेलिब्रिटीदेखि नेतासम्म

शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘हल्कारा’को प्रिमियर बुधबार बेलुका काठमाडौंको वान सिनेमाज मल्टिप्लेक्समा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार जितेको सोसल ड्रामा फिल्मलाई हेर्न कास्ट एण्ड क्रिउसहित सेलिब्रिटी उपस्थित रहे ।

निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा आकर्षण बने । फिल्म हेर्न सांसदहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए ।

उनीहरुले फिल्म मन परेको बताए । अभिनेता राजन खतिवडाले ‘पर्फेक्ट’ नेपाली फिल्म बनेको भन्दै प्रशंसा गरे । अभिनेता मुकुन भुसालले हेरुञ्जेल फिल्मसँग आफू जोडिएको बताए । फिल्मले एक हुलाकीको कथा भन्छ ।

गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ ।

हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् । फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । पोखरेलले निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ गत वर्ष ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

सम्बन्धित खवर