विपिन, सुहाना र धीरजको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने - Crazysaptahik.com

विपिन, सुहाना र धीरजको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

झरना थापा निर्देशित फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले उक्त मितिमा प्रदर्शन तय भएको जानकारी दिए । यसअघि भदौ १५ गतेलाई रिलिज मिति तय गरेको ‘भगवत् गीता’ भदौ २१ मा शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ आउने भएपछि भदौ अन्त्यमा पुगेको हो ।

‘हाम्रो फिल्म भदौ २९ मा आउने निश्चित भयो,’ थापाले भने, ‘सोहीअनुसारको काममा अघि बढ्छौं ।’ उक्त मितिमा दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ पनि आउँदैछ । स्टारकास्ट र मेकरको आधारमा यी दुवै फिल्म बक्स अफिसमा प्रतीक्षित मानिन्छन् ।

‘भगवत् गीता’लाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा निर्माता थापाकै त्रिनेत्रम डिष्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछन् । आगामी जेठ पहिलो साता यो फिल्मको टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्माता थापाले जानकारी दिए ।

‘भगवत् गीता’मा धीरज र सुहानासहित विपिन कार्कीको पनि शीर्ष भूमिका छ । विपिन स्टारर ‘प्रसाद २’ र धीरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’को हालैको कमजोर व्यापारले आफूहरु दबाबमा नपरेको निर्माता थापाले बताए ।

‘कलाकारले फिल्म चल्ने होइन । कन्टेन्ट र मेकिङले फिल्म चल्ने हो । फिल्म चलेपछि मात्रै कलाकार चल्ने हुन्, यसकारण दवाव छैन,’ निर्माता थापाले भने । फिल्मको कन्टेन्ट बलियो भएको भन्दै थापाले यसमा धीरजलाई दर्शकले मौलिक चरित्रमा देख्न सक्ने बताए ।

दर्शकले विपिनलाई अहिलेसम्म नदेखेकै पात्रमा देख्न सक्ने उनको भनाइ छ । निर्माता संघका महासचिव समेत रहेका थापाको वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनको आगामी फिल्म ‘गणपति’ जेठ २६ मा रिलिज हुने भएको छ ।

सम्बन्धित खवर