दिनेश डीसी बायोपिक फिल्म ‘सर्वजीत’ निर्देशन गर्दै, प्रधानमन्त्रीले मुहूर्त गर्ने - Crazysaptahik.com

दिनेश डीसी बायोपिक फिल्म ‘सर्वजीत’ निर्देशन गर्दै, प्रधानमन्त्रीले मुहूर्त गर्ने

दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि फिल्म निर्माण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने बायोपिक फिल्म ‘सर्वजीत’लाई शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मुहूर्त गर्ने कार्यक्रम छ ।

भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने यो ऐतिहासिक नेपाली फिल्मको छायांकन भदौ अन्तिमदेखि सुरु हुने भएको छ । रंगमञ्चका कलाकारलाई लिएर बनाउन लागिएको फिल्ममा सबै नयाँ कलाकार हुनेछन् ।

‘नाम नचलेका र फिल्ममा काम नगरेका थिएटरका कलाकारलाई लिएर फिल्म बन्न लागेको हो,’ निर्देशक डीसीले  भने, ‘चलेको कलाकार लिंदा मूल पात्रको व्यक्तित्व नै ओझेलमा पर्ने भएकाले नयाँ कलाकार लिन लागेका हौं ।’ १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी कोरोना महामारीअघिदेखि नै सुरु भएको थियो ।

‘बीचमा महामारी भएकाले प्रोजेक्ट रोकियो र अब सुचारु हुन्छ,’ डीसीले भने । विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रुपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका–७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजीत सानैदेखि विद्रोही स्वभावका थिए ।

त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजीत भन्न थालिएको हो । उनले हिन्दू धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किंदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । २०१२ सालमा भारतमै उनको निधन भयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.