उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि ‘सत्यम्’को छायांकन अनिश्चित - Crazysaptahik.com

उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि ‘सत्यम्’को छायांकन अनिश्चित

अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी उच्च अदालत पोखराले पनि आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन पुनः अनिश्चित बनेको छ । पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका निर्माताको योजना अन्योलग्रस्त बनेको हो ।

पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले शुक्रबार बिहान पोस्ट गरेको फेसबुक स्टाटसले पनि त्यसलाई पुष्टि गर्छ । जोशीले फिल्म निर्माता रेशम सापकोटाको तस्वीर सेयर गर्दै ‘सत्यम्’ फिल्मको प्रसंग उल्लेख गरेका छन् ।

‘म पोखरामा छु तपाईं कता ? फोन अफ छ । तपाईंको नियतमाथि शंका लाग्यो,’ जोशीले लेखेका छन् । पललाई थुनामै राख्ने अदालतको आदेशको भोलिपल्ट जोशीको उक्त स्टाटसले फिल्मको छायांकन अन्योलमा परेको संकेत गर्छ ।

स्रोतका अनुसार निर्माता सापकोटा र जोशीबीच आर्थिक कारोबार भएको बताइन्छ । अदालतको आदेशपछि निर्माता सापकोटाको फोन अफ छ । पल रिहा भएपछि तत्काल छायांकनमा जाने भन्दै निर्माता सापकोटाले अभिनेता राजेश हमाललाई पनि पर्खाएका थिए ।

यसअघि अनलाइखबरसँग कुरा गर्दै हमालले आफूले लामो समय फिल्मको लागि प्रतीक्षा गर्न नसक्ने बताएका थिए । ‘सत्यम्’ फिल्मबाट हमाल र पलले महंगो पारिश्रमिक लिएका छन् ।

यसै महिनाको सुरुवातमा फिल्मको गीत समेत रिलिज भएको थियो जहाँ हमाललाई मात्र चित्रण गरिएको छ । ‘सत्यम्’ अब पलबिनै छायांकनमा जान्छ कि निर्माण नै हुँदैन भन्ने चासो सुरु भएको छ ।

सम्बन्धित खवर