मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो - Crazysaptahik.com

मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका छन् । मर्निङ वाकमा निस्कने क्रममा उनले घरबाहिर भेटाएको पत्रमा सलमानलाई मुसेवालाकै जस्तो हालत बनाइदिने चेतावनी दिइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त पत्रपछि नाम नखुलेको एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरिएको छ ।

मुम्बई प्रहरीले यसबारे अनुसन्धान थालिसकेको छ । प्रहरीका अनुसार सलमान मात्र होइन, पिता सलिमलाई समेत उक्त पत्रमार्फत ज्यान मार्ने धम्की दिइएको छ । सलिमले यसबारे प्रहरीलाई बयान दिइसकेका छन् । सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ छायांकनको क्रममा भएको कालो हरिण शिकारको घटनामा संलग्न भनिएका सलमानलाई त्यतिबेला पनि लरेन्स बिस्नोइ ग्याङले मार्ने धम्की दिएको थियो ।

सिद्धू मुसेवालाको हत्या घटनामा पनि अहिले तिहाड जेलमा रहेका लरेन्स बिस्नोइमाथि सोधपुछ भइरहेको छ । यसैसाता सलमान अबुधाबीमा सम्पन्न आइफा अवार्डमा सहभागी भएर मुम्बई फर्किएका छन् ।

 

सम्बन्धित खवर