कर्णालीमा फिल्म कार्यशाला सुरु, मुख्यमन्त्रीले भने– कर्णालीलाई कमजोर नसम्झ - Crazysaptahik.com

कर्णालीमा फिल्म कार्यशाला सुरु, मुख्यमन्त्रीले भने– कर्णालीलाई कमजोर नसम्झ

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन् । केबी इन्टरटेन्मेन्टले बुधबार वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उनले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताए ।

चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको उनको भनाइ थियो । हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकि सिंगो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।’

वरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारको प्रशंसा गर्दै उनले कर्णालीका कथा र वास्तविकतालाई फिल्ममा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्न सुझाए । वरिष्ठ रंगकर्मी गणेशभक्त गौतमले कर्णाली आफैंमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमै फिल्म निर्मातासहित दक्ष कलाकारहरू भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वातावरण नभएको र राज्यको हेर्ने नजर समेत फरक भएको उनले टिप्पणी गरे । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले २०६८ सालमा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताए ।

केबी इन्टरटेन्मेन्टका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा फिल्म उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाई मुलुक निर्माण सहयोग पु¥याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गरे । कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिनेछन् ।

कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेल, माया थापा लगायत कलाकारको सहभागिता रहेको कार्यशालामा २५ जना सहभागी छन् । कार्यशालामा फिल्म निर्माण अन्तर्गत अभिनय, छायांकन, सम्पादन, लेखन, निर्माण र निर्देशन सम्बन्धी प्रशिक्षण चलिरहेको छ ।

जसअन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, विष्णु कल्पितले छायांकन, प्रितम पाण्डेले सम्पादन, शिवम् अधिकारीले चलचित्र लेखन र डब्बु क्षेत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिइरहेका छन् । यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदानप्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.