दीपक मनाङेको फिल्म ‘दुई नम्बरी’लाई रिलिजअघि नै विदेशबाट ८५ लाख नेट - Crazysaptahik.com

दीपक मनाङेको फिल्म ‘दुई नम्बरी’लाई रिलिजअघि नै विदेशबाट ८५ लाख नेट

घरेलु बजारमा प्रदर्शन हुनुअघि नै फिल्म ‘दुई नम्बरी’लाई डायस्पोरा व्यापारले राहत दिएको छ । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फिल्मले युरोप महादेशसहित ९ मुलुकबाट ८५ लाख रुपैयाँ नेट कमाइ गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूएई, कतार, कुवेत, साउदी, बहराइन, जोर्डन र दक्षिण कोरियामा फिल्मको प्रदर्शन निश्चित भइसकेको छ । नेपालसहित यी मुलुकमा फिल्म कात्तिक ४ गते नै प्रदर्शन हुने भएको छ ।

‘कबड्डी ४’पछि यो नेपाली फिल्म धेरै देशमा रिलिज हुन लागेको हो । भारत र भुटानमा चाहिं पछि मात्र फिल्म रिलिज हुनेछ । जापान र हङकङ लगायतका मुलुकमा प्रदर्शन मिति टुंगो लागिसकेको छैन । दयाहाङ राई र सौगात मल्ल भएकाले पनि ‘कबड्डी ४’ले राम्रो कमाइ गरेको अन्तर्राष्ट्रिय बजारमा ‘दुई नम्बरी’लाई फाइदा हुने देखिएको छ ।

कबड्डीको चौथो श्रृंखलाले विदेशबाट १० करोड ग्रस कमाइ गर्ने प्रक्षेपण छ । प्रदर्शन हुने तयारीमा रहेको ‘दुई नम्बरी’ले विदेशबाट प्राप्त हुने ८५ लाख र डिजिटल राइटबापतको ५२ लाख रुपैयाँ नेटसहित १ करोड २७ लाख सुनिश्चित गरिसकेको छ । प्रचारप्रसारसम्म २ करोड रुपैयाँ खर्च हुने बताइएको फिल्मको आधाभन्दा बढी लगानी उठिसकेको प्रस्तुतकर्ता नेपालीले  बताए ।

दयाहाङ र सौगातसहित उपासनासिंह ठकुरी र उगेन छोदेनको पनि फिल्ममा प्रमुख भूमिका छ । फिल्मलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माण गरेका हुन् । उनले यसअघि ‘वान वे’ निर्माण गरेका थिए । ‘दुई नम्बरी’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर