गायक समीर घिसिङ अर्थात् भिटेनलाई लिएर बनाउन लागिएको फिल्म ‘रत्नपार्क’ अनिश्चित बनेको छ । भिटेनले फिल्मभन्दा अन्तर्राष्ट्रिय टुरलाई प्राथमिकता दिएपछि फिल्म तत्काल नबन्ने निर्माता नवराज गिरीले जानकारी दिए । निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा’ छायांकनपछि बुढासुब्बाले निर्माण गर्न लागेको फिल्मलाई समय दिने योजना बनाएका थिए ।
तर भिटेनले दशैंसम्म आफू विदेश टुरमै व्यस्त हुने बताएपछि छायांकन पोस्टपोन्ड भएको गिरीले बताए । ‘भिटेनले दशैंसम्म आफू विदेशको म्युजिकल टुरमा व्यस्त हुने बताएपछि हामी फ्लोरमा जाने समय धकेलिएको छ,’ गिरीले अनलाइनखबरसँग भने, ‘मंसिरको चुनावपछि नै छायांकनमा जानेछौं ।’
अहिलेसम्म प्रमुख पुरुष कलाकारमा भिटेन र निर्देशकमा खनाल फाइनल छन् । मुख्य अभिनेत्रीको लागि अडिसन खुलाउने तयारी भएको छ । कोरोना महामारीको कारण रोकिएको विदेशको टुर दशैं छेकोमा धमाधम हुन थालेपछि भिटेनसहितका कलाकार व्यस्त हुँदैछन् । कतिपय विदेशी मुलुकले कोभिडको अध्यागमन नीति खुकुलो बनाउन थालेपछि नेपाली कलाकारलाई टुरमा जान सजिलो भएको छ ।