खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’को ट्रेलर : संक्रमणकालीन न्यायमाथि प्रश्न - Crazysaptahik.com

खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’को ट्रेलर : संक्रमणकालीन न्यायमाथि प्रश्न

खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा पेश गर्छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयं फिचर्ड छन् ।

मर्मस्पर्शी ट्रेलरले बेपत्ता भएका परिवार र आफन्तको पीडा मात्र प्रस्तुत गर्दैन, सशस्त्र द्वन्द्वका पक्षलाई प्रश्न पनि गर्छ । संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई फिल्मले चित्रण गरेको छ ।  खगेन्द्रकै कथा रहेको फिल्ममाथि यसअघि नाटक पनि मञ्चन भएको छ । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले सशस्त्र द्वन्द्वको कथामाथि अहिले पनि कथा भन्नु जरुरी रहेको भन्दै यसले सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्ने बताए ।साउन १३ गते रिलिज हुने फिल्ममा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ । ट्रेलरअनुसार फिल्ममा अनुप र मेनुकाले दम्पतीको भूमिका निर्वाह गरेका छन् जो बेपत्ता छोरोको खोजीमा निस्किएका छन् ।

अनुप बराल निर्देशित फिल्म ‘दोख’ अहिले पनि हलमा प्रदर्शन भइरहेको छ । यही मेसोमा रिलिज भएको ‘पानीफोटो’ले पनि सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्छ । यही फिल्ममार्फत खगेन्द्र निर्देशनमा अघि बढेका हुन् । सोमबारदेखि उनी ४४ वर्ष पनि टेकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.