साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा - Crazysaptahik.com

साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा

कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार–हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो ।

बक्स अफिसमा पैसा छाप्ने अभिनेता मानिने अक्षय कुमार र अजय देवगणका फिल्म पनि असफल रहे । ‘द कश्मीर फाइल्स’ले भने जादुमयी कमाइ ग¥यो । यो प्रवृत्तिलाई अपवाद मानिएको छ । यसअघि बलिउडमा ‘जय सन्तोषी माँ’ले पनि भारी कमाइ गरेको थियो । सन् २०१९ सम्म बलिउडको रिभेन्यु ५ हजार २०० करोड रुपैयाँ थियो ।

जबकि दक्षिण भारतीय फिल्मको रिभेन्यु चार हजार करोड थियो । कोरोनाकालपछि साउथ इण्डियाका पुष्पा, मास्टर, आरआरआरजस्ता फिल्म प्रदर्शन भए । सोही समय बलिउडका कुनै पनि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेनन् । कोरोनापछि दक्षिण भारतीय फिल्मको कमाइ सन् २०२१ मा २ हजार ४०० करोड पुग्यो । बलिउडको कमाइमा गिरावट आएर ८०० करोड भारुमा खुम्चियो ।

ओरेम्याक्सको रिपोर्ट अनुसार सन् २०२२ को सुरुवाती तीन महिनामा तेलुगू फिल्मको बक्स अफिस आकार २९ प्रतिशत बढ्यो । जबकि बलिउडको सेयर जम्मा २७ प्रतिशत मात्र छ । भारतमा बर्सेनि २६ भाषाका करिब १ हजार ९०० देखि २ हजारसम्म फिल्म निर्माण हुन्छन् । जसमा ५०० फिल्म हिन्दी भाषाका हुन्छन् । दोस्रो स्थानमा कन्नड फिल्म उद्योग छ ।

जहाँ करिब ३०० देखि ३५० फिल्म बन्छन् । तेलुगूमा २८० वटासम्म फिल्म बन्छन् । तेलुगूमा हिन्दीभन्दा कम फिल्म बन्छन्, तर रिभेन्यु हिन्दीभन्दा उच्च छ । भारतको मनोरञ्जन करमा तमिल र तेलुगू फिल्मको योगदान ४० प्रतिशत छ । ‘बाहुबली २’ लाई भारतका १० करोड मानिसले हलमा पुगेर हेरेको उल्लेख छ । यसपछि ‘आरआरआर’ छ जसलाई ७ करोडले हेरेको जनाइएको छ । बलिउड फिल्म ‘थ्री इडियट्स’लाई ३.५ करोडले हेरेको बताइन्छ ।

सम्बन्धित खवर