निर्मल पूर्जाको नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’ एमी अवार्डमा मनोनित - Crazysaptahik.com

निर्मल पूर्जाको नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’ एमी अवार्डमा मनोनित

कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ । आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा फिल्म छानिएको हो । यो विधामा कम्पोजर नैनिता देसाई मनोनित भएकी हुन् ।

नेटफ्लिक्समा रिलिज भएलगत्तै समीक्षकबाट समेत ध्वनि रचनातर्फ देसाईले चर्चा बटुलेकी थिइन् । त्यतिबेला उनले सगरमाथाको शून्यतामा ध्वनि सिर्जना गर्नुपर्ने चुनौती रहेको बताउँदै शून्यतालाई पनि ध्वनिको परिभाषामा बाँधेकी थिइन् । एमीमा मनोनित भएलगत्तै पूर्जाले देसाईलाई बधाई दिएका छन् । मनोनयनपछि अब अगस्ट १२ देखि २२ सम्म मतदान हुने प्रक्रिया हुनेछ ।

सेप्टेम्बर १२ मा अमेरिकाको लस एन्जलसमा हुने समारोहमा विजेता घोषणा हुनेछ । पूर्जाले सात महिनाभित्रै कसरी ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल आरोहण गरे भन्ने चित्रण यो डकुमेन्ट्री फिल्मले गर्छ । स्ट्रिमिङ भएलगत्तै नेटफ्लिक्समा करोडौंले यसलाई हेरेका थिए भने उक्त प्लेटफर्ममा अहिलेसम्म हेरिएका टपटेन डकुमेन्ट्रीमा पनि यो फिल्म अटाएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.