इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई बेटर–हाफ भएको उल्लेख गरेका मात्र छैनन्, नयाँ सुरुआत भएको बताएका छन् ।
आईपीएलका संस्थापकसमेत रहेका मोदीले आफूहरुले बिहे गरेको नभई डेटिङ मात्र गरिरहेको उल्लेख गरेका छन् । ‘स्पष्टताको लागि : हामीले बिहे होइन, डेटिङ गरिरहेका छौं । त्यो पनि कुनै दिन हुनेछ,’ मोदीको ट्वीटमा उल्लेख छ । यसअघि सन् १९९१ अक्टोबरमा मोदीले मिनल सग्रानीसँग बिहे गरेका थिए । मीनलबाट मोदीका दुई सन्तान छन् ।
सन् २०१८ मा क्यान्सरको कारण मीनलको निधन भयो । अभिनेत्री सेनले हालै मोदीसँग माल्दिभ्समा बिदा मनाउँदाको रोमान्टिक तस्बिर सेयर गरेकी थिइन् । गत महिना सुस्मिताले बिहे गर्ने योजना नरहेको बताएकी थिइन् । तीन पटक बिहे गर्ने योजना बने पनि त्यो सफल नरहेपछि आफूलाई भगवानले उद्दार गरेको उनको टिप्पणी थियो ।