चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् । हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् ।
सिरियलपछि फिल्ममा पनि दीपक दीपासँग काम गर्ने अवसर जुरेकोमा राजले खुसी व्यक्त गरे । ‘केही अगाडि एकसाथ काम गर्ने कुरो भएको थियो’ राजले भने ‘‘छक्का पञ्जा ४’ बाट सो अवसर जुर्यो । साह्रै खुशी छु ।’ ‘तितो सत्य’पछि केही म्युजिक भिडियो अभिनय गरेका राजले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो कसेका थिए ।
विवाह गरेलगत्तै उनले फिल्मको हिरो हुने अवसर पाएका छन् । सोमबार सूर्यविनायक मन्दिर भक्तपुरमा पूजा गर्दै छायाँकन सुरु गरेको फिल्ममा राजको अलवा दीपकराज गिरी, बेनिशा हमाल , मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहने छ । कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा बेनिशा र मलिना दीपकको जोडीको रुपमा रहनेछन् ।