पोर्न फिल्मको मुद्दामा पति राज कुन्द्राको गिरफ्तारीपछि पहिलो पटक नायिका शिल्पा सेट्टीले सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।
शिल्पाले सामाजिक संजाल मार्फत आफूहरुको गोप्यतालाई सम्मान गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हो, पछिल्लो केही दिनयता हामी समस्याले भरिएका छौं । हामीमाथि कैयौं आरोप लागेका छन् र हल्ला पनि फैलिएका छन् ।
मिडिया र मेरा कथित शुभचिन्तकहरुले मेरो परिवारको बारेमा धेरै कुरा भनेका छन् । मेरो पुरै परिवारलाई ट्रोल बनाइएको छ । हामीमाथि प्रश्न उठाइएको छ ।
यस बिषयमा मेरो स्पष्ट कुरा के हो भने मैले अहिलेसम्म केही पनि भनेकी छैन र आगामी दिनमा पनि म मौन नै रहनेछु । मेरो नाममा झुटो कुरा नबनाइयोस् ।’
शिल्पाले अगाडि लेखेकी छिन्–‘एक सेलिब्रिटी हुनुको नाताले मेरो सोच के हो भने कहिले पनि गुनासो गर्न हुँदैन र स्पष्टिकरण पनि दिन आवश्यक छैन । म अहिले यतिमात्र भन्न चाहन्छु कि छानविन चलिरहेको छ ।
मलाई मुम्बई प्रहरी र भारतको कानुनमाथि भरोसा छ । एक परिवार हुनुको नाताले हामीले कानुनको साहारा लिइरहेका छौं ।’
शिल्पाले थपेकी छिन्–‘म सबैसँग निवेदन गर्न चाहन्छु कि, विशेषगरि एक आमा हुनुको नाताले, हाम्रो बच्चाको लागि भएपनि गोप्यतालाई ध्यान दिइयोस् । साथै, अधुरा कुराहरुमाथि विश्वास गरेर सत्यता नवुझी प्रतिक्रिया दिन बन्द गरियोस् ।’