नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औषतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ बर्ष अगाडि कोरोनाको कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन ।
अझै, यो अन्यौल कहिलेसम्म कायम रहने हो भन्न सकिदैन । तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौको लगानी गर्ने होडबाजी भने रोकिएको छैन ।
बक्स अफिसमा निरन्तर असफल चलचित्र दिएका कलाकार हुन् वा हिट कलाकार नै किन नहुन्, उनीहरुमाथि करोडौं रकम जोखिम मोल्न निर्माता तयार छन् । कलाकार कम हुनुको वाध्यता एउटा यो पनि हो ।
नायक सौगात मल्लका चलचित्र निरन्तर असफल छन् । ‘लुट’को ब्रान्ड बाहेक उनले अन्य चलचित्रबाट निर्मातालाई खासै सुखद अनुभुती गराएका छैनन् । तर, उनीमाथि करोडौं लगानी गर्न निर्माता आज पनि तयार छन् ।
कोरोनाका कारण नयाँ चलचित्रको काम सुरु गर्न नपाएका सौगातसँग आधा दर्जन चलचित्र छन् । यस्तै, उनका आधा दर्जन चलचित्र नै रिलिजको तयारीमा छन् ।
सौगात मल्लले २ दिन अघि मात्र मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’मा कागजी संझौता गरे । उनको अभिनय रहने चलचित्र ‘कबड्डी ४’को छायांकन कोभिडको दोश्रो लहरका कारण रोकिएको छ ।
यस्तै, उनले नायिका रेखा थापाको एक चलचित्रका लागि पनि लिखित संझौता गरिसकेका छन् । निर्देशक आकाश अधिकारीले निर्देशन गर्न लागेको एक चलचित्र पनि सौगातले कोरोनाको पहिलो लहर सकिएसँगै साइन गरेका थिए ।
सौगातले यी चलचित्रका लागि कहिले र कसरी समय दिने हुन् त्यो त काम सुरु भएपछि नै थाहा हुनेछ । तर, यो सँगै उनले अभिनय गरेका ‘लप्पन छप्पन २, माइकल अधिकारी, मन्त्र, घनचक्कर, राधा, मासु भात’ लगायतका चलचित्र रिलिजको तयारीमा छन् ।