शनिबार सम्पन्न भएको ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् ।
उनले, व्यस्त संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको ‘म त डुब्दै डुब्दै गए’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतमा किरणको सोलो स्वर छ ।
द डिभाइन म्युजिकले तयार पारेको यो गीतका लागि किरणसँग संगीतकार पोखरेलको कुराकानी भने ४ महिना अगाडि नै भएको थियो ।
अर्जुनले भने–‘मैले यो गीत किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेकाले उनको स्वरमा रेकर्ड गराएका होइन ।
यो गीतको बिषयमा हाम्रो ४ महिना अगाडि नै कुराकानी भएको थियो । अझ, किरण अमेरिकामा रहँदा नै अर्को एउटा गीत गाउने बिषयमा हाम्रो कुराकानी भैसकेको थियो ।
उनी, नेपाल आएपछि यो गीतको बिषयमा पनि कुरा भयो ।’ अर्जुनले अगाडि भने–‘मैले यो गीत केही दिन अगाडि नै रेकर्ड गर्न चाहेको थिएँ ।
तर, भ्वाइस अफ नेपालको टिमले किरण क्लोज क्याम्पमा रहेको जानकारी दिएकाले रेकर्ड हुन ढिलाई भएको हो । किरणको स्वर पाश्र्व गायनदेखि हरेक गीतका लागि फिट छ ।’
किरण राम्रो गायक भएकाले नै आफूले केही महिना अगाडि नै उनीसँग सहकार्य गर्न चाहेको बताउँदै अर्जुनले भने–‘बजारमा उनको बारेमा विभिन्न खालका टिप्पणी पनि भएका छन् ।
तर, उनको स्वर राम्रो भएकाले नै मैले उनलाई केही महिना अगाडि नै गीत रेकर्डका लागि प्रस्ताव राखेको हुँ ।’ किरणले यसअघि नै चलचित्र ‘राधा र साढे ७’को गीतमा स्वर दिइसकेका छन् ।