जति–जति उमेर बढ्दै जान्छ, उति नै जवान ? प्रकृतिको नियमले यसो भन्दैन । एउटा निश्चित अवधिपछि मान्छेको उमेर ढल्कन थाल्छ । जति उमेर ढल्कदै जान्छ, उनको जावानी पनि निख्रिदै जान्छ ।
अनुहारको आभा र आकर्षण फिका हुँदै जान्छ । छाला चाहुरिन थाल्छ । कपाल फुल्न थाल्छ । तर, सबैको हकमा यस्तो नहुने रहेछ । उदाहरण हुन्, बलिउड सेलिब्रेटी । थुप्रै सेलिब्रेटी छन्, जो उमेरले ५० बर्ष पार गरिसके ।
तर, उनीहरु अझैपनि उस्तै जवान र आकर्षक छन् । अनिल कपूरकै कुरा गरौं । उनी हजुरबा हुने उमेरका भइसके । जवान तीन छोराछोरीका पिता हुन् । छोरी सोनम कपूरको केही वर्षअघि विवाह नै भइसक्यो ।
आफ्नै छोरी ज्वाईसँग एकसाथ बस्दा उनी ‘ससुरा’ जस्ता देखिदैनन् । उनी ज्वाई भन्दा जवान देखिन्छन् । उमेरको कुरा गर्ने हो भने उनी ६४ बर्षका भइसके । तर, उनको युवापन अझै कायम छ । करियरको पूवाद्र्धमा उनले सानोतिनो भूमिका मात्र गरे ।
‘हमारे तुम्हारे’ फिल्ममा उनी सहायक अभिनेताको रुपमा थिए । ‘वो सात दिन’ बाट भने उनले केन्द्रिय भूमिका पाए । सोही फिल्मबाट उनले आफुलाई अब्बल सावित गर्दै बलिउडमा लामो छलाङ मारे ।
त्यसपछि उनले थुप्रै हिट फिल्म दिए । पछिल्लो समय उनी फिल्ममा सक्रिय छैनन् । यद्यपि उनको रवाफ भने उस्तै छ । अभिनेत्री रेखा झट्ट हेर्दा कुन उमेरकी देखिन्छन् ? उनको रुपरंग हेरेर उमेरको अनुमान गर्न गाह्रो छ । जबकि रेखा ६६ बर्षकी भइन् ।
अहिले उनी फिल्ममा त उति सक्रिय छैनन्, तर बलिउड इभेन्टहरुमा भने उपस्थित हुने गर्छिन् । उनको चमक आज पनि त्यस्तै छ, जस्तो कि जवानीमा थियो । रेखाले बाल कलाकारको रुपमा करियर सुरु गरेकी थिइन् ।
‘रंगुला रत्नम’ नामको तेलुगु फिल्ममा उनी बाल कलाकारको भूमिकामा छिन् । सन् १९७० मा ‘सवान भदों’ बाट बलिउड यात्रा सुरु गरिन् । त्यसो त रेखाका आमा र बुवा दुबै फिल्म क्षेत्रकै थिए ।
बुवा जैमिनी गणेशन र आमा पुष्पावली तेलुगु फिल्मका अभिनेता–अभिनेत्री थिए । तर, जतिबेला रेखाको जन्म भयो उनका मातापितावीच विवाह भएको थिएन । लामो समयसम्म उनका पिताले रेखालाई आफ्नो सन्तानको रुपमा स्वीकार गरेनन् ।
सुरुमा रेखालाई फिल्म क्षेत्रमा रुची थिएन । तर, पारिवारिक आर्थिक स्थिती कमजोर भएपछि उनले फिल्मी क्षेत्रमा काम गर्न थालिन् । करियरको सुरुवातमा उनले तेलुगुको बी र सी ग्रेडका फिल्ममा काम गर्नुप¥यो । जसै उनले बलिउड यात्रा सुरु गरिन्, लोभलाग्दो ख्याती कमाइन् ।
रेखा नै बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले पहिलो पटक जिम जान सुरु गरिन् । उनी योगमा पनि माहिर छिन् । ८० र ९० को दशकमा माधुरी दीक्षितलाई फिल्मको स्क्रिनमा जस्तो देखिन्थ्यो, आज पनि त्यसमा खासै फेरबदल छैन । उनी उत्तिकै सुन्दर र जवान देखिन्छन् । उमेरको. हिसाब लगाउने हो भने उनी ५४ बर्ष पुगिसकिन् ।
माधुरीले सन् १९८४ मा अबोध नामक फिल्मबाट बलिउड डेब्यु गरेकी हुन् । यसका साथै उनले तेजाब, दिल तो पागल है, दिल, साजन जस्ता केहि हिट फिल्म दिएकी छिन् । उनलाई राम्ररी नियाल्ने हो भने, विगतमा जस्तै उनी अझै आकर्षक देखिन्छिन् ।