राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी - Crazysaptahik.com

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ । फाइनलमा दरबार दोहोरी साँझ काठमाडौंलाई हराउँदै नगरकोटले उपाधि जितेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अस्ट्रेलिया तेस्रो भए । दुवै टिमले बराबर अंक प्राप्त गरे ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र प्रतिष्ठान गण्डकीकी सीता परियार उत्कृष्ट गायिका घोषित भइन् । धौलागिरि दोहोरो साँझ ओसाका जापान अनुशासित टिम बन्न सफल भयो । जुनेली दोहोरी साँझकी शान्ति कार्कीले नवप्रतिभा पोत्साहन पुरस्कार प्राप्त गरिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी निर्णायकको रुपमा थिए ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ४५ टिमले प्रतिस्पर्धा गरे । विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता समूहले ४ लाख, तृतीय हुन सफल दुई समूहले डेढ–डेढ लाख नगद पुरस्कार हात पारेका छन् । उत्कृष्ट गायक, गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । नवप्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैयाँ प्रदान गरियो ।

साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो । लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । २००३ साल साउन १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.