सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘२ नम्बरी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति फाइनल गरेका हुन् ।यसअघि यो फिल्म कात्तिक ४ गते हुने पूर्वनिर्धारित योजना थियो । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार अब दुई साता अघि नै फिल्म प्रिपोन्ड भएको छ ।
‘आगामी मंसिर ४ गते हुने प्रदेश सभा अन्तर्गतको चुनावमा मेरो उम्मेदवारी पनि हुने र म चुनावमा सक्रिय हुनुपर्ने भएकाले नयाँ मिति तय गरेका हौं’ नेपालीले भने, ‘उक्त मिति पनि खाली भएकाले डेट तोकेका हौं ।’ दीपेन्द्र लामा निर्देशित फिल्ममा उपासनासिंह ठकुरी र उगेन छोदेन पनि प्रमुख भूमिकामा छन् ।
भुटानी अभिनेत्रीको यो डेब्यु नेपाली फिल्म हो । फिल्मले मित्रताको कथा पेश गर्छ । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् । पूर्वनिर्धारित मिति असोज कात्तिक ४ बाट फिल्म सरेपछि अर्को फिल्म ‘के घर के डेरा’लाई राहत मिलेको छ । कोरोना महामारीको कारण छायांकन प्रभावित भएको ‘२ नम्बरी’ कलाकार र स्क्रिप्टमा केही हेरेफेर गर्र्दै सुटिङ भएको थियो ।