
अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो ।
शनिबार मात्र उनले घर निर्माण कार्य पुरा भएको जनाउँदै आमाबुबालाई आफैले निर्माण घरमा राख्ने सपना पुरा भएको बताएकी छन् । सामाजिक सञ्जालमा घरसहितको तस्बिर पोस्ट गर्दै उनी लेख्छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर, सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।’
झापाको चन्द्रगढीस्थित पुरानो घर भएको ठाउँमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको उनले जनाएकी छन् । ‘बाबाममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रहने सत्कर्म गर्नेछु ।’ रचनाको यो पोस्ट लगत्तै उनलाई अन्य कलाकारले समेत बधाई दिएका छन् । पछिल्लो समय अन्य कलाकारले पनि कला क्षेत्रकै कमाइबाट घर र गाडी किन्न थालेका छन् ।

