धरानमा जेबी टुहुरे प्रथम स्मृति सन्ध्या तथा स्रष्टा सम्मान हुने - Crazysaptahik.com

धरानमा जेबी टुहुरे प्रथम स्मृति सन्ध्या तथा स्रष्टा सम्मान हुने

 


वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा यही भदौ १० गते (शुक्रबार) धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा एकजना वरिष्ठ गायकलाई रु १ लाख राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट सम्मान समेत गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ ।

तत्कालीन संविधानसभा सदस्य समेत रहेका जुठबहादुर खड्गी (जेबी टुहुरे)को गत वर्ष भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । वि.सं.२००१ सालमा धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

भानु चोकको खुला ठाउँमा आयोजना गरिने कार्यक्रममा टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्ता माझ पुर्याउने उद्देश्यले ख्यातिप्राप्त गायकहरुले टुहुरेकै आवाजका विभिन्न गीत गाउनेछन् । कार्यक्रममा वरिष्ठ गायक शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, दीप श्रेष्ठ, भीषण मुकारुङ, चेतन सापकोटा, बाबु बोगटी, प्राश्ना शाक्य, हर्सु राई, रुपकचन्द्र डोटेल, सविन लिम्बु, आकाश थापा, साजन राई, दुर्गा परियार, सञ्जय तुम्रोक, प्रशान्त शर्मा, प्रदेश लिम्बु, जितेन्द्र चौधरी, गंगा राई, कृष्णराजा श्रेष्ठ लगायतले टुहुरेले गाएका गीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक योजना मन्त्री इन्द्र आङ्बो सहित विभिन्न दलका प्रतिनिधिको समेत उपस्थिति रहने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ । कार्यक्रमको सहआयोजक खड्गी समाज धरान र धरान संगीत प्रतिष्ठान रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.