आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत रिलिज भएपछि धीरज र अदितीको जोडीलाई रुचाइएको छ ।
निर्देशक तय भइसके पनि अहिले यसबारे खुलाइएको छैन । फागुनदेखि छायांकन सुरु हुने फिल्मबारे अन्य कलाकार तय भइसकेका छैनन् । अदितीको होम प्रोडक्सन फिल्म बाबरीका दुई गीत ‘चुलबुल चुलबुल’ र ‘बाबरी रंग’ युट्युबमा रुचाइएका छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’मा धीरज मगर र तृप्ति नाड्करका छोरा धीरज नाड्करको समेत अभिनय छ ।